काठमाडौँ । लैजाउ मलाई मायाको तालसम्मै
सँगै यात्रा अनन्त कालसम्मै
मगमग वासना, आऊ न गर दिलमा शासन
माथिका शब्द लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’को हो । पन्तकै शब्द, सङ्गीत रहेको गीतमा गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर छ ।
केही दिन अगाडि सार्वजनिक यो गीतको चर्चा चुलिँदो छ । दर्शकस्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गीतले लोकदोहोरीमा देखिएको मौलिकताको खडेरी टारेको सङ्गीतकर्मी बताउँछन् ।
केही अघि तिजमा गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा सबैलाई नचाउने ‘बिजुली चमक्क’ आइटम गीत ल्याएका पन्तले त्यसपछि सुगमसङ्गीतमा गायक प्रमाद खरेलको स्वरमा ‘धेरै माया’ ल्याए । त्यस लगत्तै उनले ‘मगमग वासना’ ल्याएका छन् ।
आमा बिरामी, निधन लगायतका कारणले केही समय चाहेर पनि सङ्गीतमा समय दिन नसकेको पन्तले बताए । ‘अब फेरि लयमा फर्किने क्रममा छु’, उनले भने, ‘एक लोकदोहोरी र एक आधुनिक गीत छिट्टै आउँछ ।’