काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरुले आ–आफ्नै दाबी प्रश्तुत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री संविधानको कुन धारा अनुसार नियुक्त गर्नेछन् भन्नेमा सर्वत्र चासो र बहसहरु भइरहेका छन् । वर्तमान प्रधानमन्त्री संविधानको धारा ७६, २ बमोजिम नियुक्त हुनुभएको र उनले विश्वासको मत नपाएमा स्वतः धारा ७६,३ मा जाने माओवादी केन्द्रका नेताहरुले दाबी गरिरहेका छन् भने कांग्रेस–एमालेका नेताहरु भने धारा ७६,२, बमोजिम नै प्रधानमन्त्री नियुक्त हुने बताइरहेका छन् ।