काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरुले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् । यस वर्षको वर्षायाममा बाढी, पहिरो तथा डुबानको समस्या न्यूनीकरणको पूर्वतयारी र उद्धार एवं पुनःस्थापनामा ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा सांसदहरूले आन्दोलनरत संसद् सचिवालयका कर्मचारीको उचित माग सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले सरकारको कर नीतिका कारण नेपाली गलैँचा व्यवसाय धराशायी हुने अवस्था पुगेको बताएका छन्।
सांसद अनिशा नेपालीले हरेक जिल्लामा दलित कक्ष स्थापना गर्ने सरकारको योजना प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको तथा भूमिहीन र सुकुम्बासीले लालपुर्जा पाउन नसकेको बताएका छन् ।
सांसद अब्दुल खानले रुसी सेनामा भर्ती भएका ६ नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा पुगेका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । रुसी सेनामा कार्यरत नेपाली स्वदेश फिर्ताका लागि पहल गर्न उनले माग गरे ।
सांसद अम्मरबहादुर थापाले क्रमागत प्रकृतिका सडक आयोजनाका लागि न्यून बजेट विनियोजन गरिएको भन्दै काम सुरु भइसकेका आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।
सांसद अशोककुमार चौधरीले कमजोर साइबर सुरक्षाका कारण बैंक खाता ह्याक गरेर पैसा लुट्ने घटना बढिरहेकामा सरकारको ध्यानाकर्षण गराए ।
सांसद छिरिङ डम्डुल लामाले चीनको हिल्सा नाका जोड्ने सडक निर्माण गर्न पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए ।
सांसद जावेदा खातुन जागाले वर्षायाम सुरु भइसकेकाले तराई–मधेसका धेरै जिल्ला डुबानको उच्च जोखिममा रहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न सरकारसँग माग गरिन् ।
सांसद जुलीकुमारी महतो महासेठले वर्षायामको सुरुमै विभिन्न क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएकाले यातायात पुनःसञ्चालन गर्न माग गरिन् ।