काठमाडौँ । मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्थामा छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताएका छन् ।
हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पुर्याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द हुने बताएका छन् ।
उनले काठमाडौँमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए । बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने बताए । जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए ।
२०७८ साल असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाका संरचनाहरूमा ठुलो क्षति पुर्याएको थियो ।