काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश १ ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताएका छन् । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विसं २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।
उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्व सभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका २८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेन्डा खोजेको बताए ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका २६ का पूर्व अध्यक्ष विश्वम्भर लाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।