एनडिए सम्बादाता काठमाडौं, नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको पहिलो केन्द्रीय महाधिवेशनमार्फत युवा ब्यवसायी माधव प्रसाद त्रिपाठी केन्द्रीय महासचिवमा निर्वाचित भएको छ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरुषोत्तम पराजुली अध्यक्षमा त्रीपाठी महासचिवमा निर्वाचित भएका हुन।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले बदलिँदो प्रविधिमैत्री श्रम बजारमा श्रमिकहरूको सुरक्षा, पहिचान र संस्थागत व्यवस्थापनमा यस्ता संगठनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले प्रदेश सरकार सधैं श्रमिक हितका पक्षमा सकारात्मक रहने प्रतिवद्धता व्यक्त गर्दै अनलाइन सेवा क्षेत्रमा क्रियाशील श्रमिकहरूको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष पराजुलीले श्रमिकहरूको हकहित सुनिश्चित गर्न सङ्गठित ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै सामाजिक सुरक्षा, बीमा, श्रमिक दर्ता, तालिम र नीति निर्माणमा सङ्घको सक्रिय सहभागिता हुने जानकारी दिनुभयो। “हजारौं अनलाइन श्रमिकहरूको आवाजलाई नीतिगत तहमा प्रभावकारी रूपमा पु-याउने जिम्मेवारी हामीले बुझेका छौं,” अध्यक्ष पराजुलीले भन्नुभयो, “हामी नारा होइन, व्यवहारमा आधारित अभियान सञ्चालन गर्छौं।”
महाधिवेशनमा विशेष अतिथि ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य ध्रुवचन्द्र गौतम, बागमती प्रदेशसभा सांसद माननीय मीना पराजुली, बाराका ट्रेड युनियन कांग्रेस सभापति विश्वमणि शर्मा तथा नेपाली कांग्रेस काठमाडौं–४ का प्रदेश सभापति रामप्रसाद लुइटेलको पनि उपस्थिति रहेको थियो।
महाधिवेशनबाट नयाँ कार्यसमिति यस प्रकार गठन भएको छ:
अध्यक्ष: पुरुषोत्तम पराजुली
वरिष्ठ उपाध्यक्ष: संग्रामजीत लामा
उपाध्यक्षहरू: सन्तोष खनाल, सुरेश श्रेष्ठ, हरि आचार्य
महिला उपाध्यक्ष: बिन्दा भेटवाल
महासचिव: माधवप्रसाद त्रिपाठी
उप–महासचिवहरू: हरिप्रसाद चौलागाईं, कुलप्रसाद धमला
कोषाध्यक्ष: माधवप्रसाद चालिसे
उप–कोषाध्यक्ष: हरिचरण चौधरी
१२ जना केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएका छन्।
नवनिर्वाचित कोषाध्यक्ष माधव चालिसेले सघंले आगामी दिनमा श्रमिक दर्ता, सामाजिक सुरक्षा, आकस्मिक सहायता कोष, सेवा प्रदायक कम्पनीहरूसँग औपचारिक समन्वय र नीतिगत संवादमार्फत श्रमिक हितका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।